काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीको उपचारमा सहयोग गर्न क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सबै सुभचिन्तकहरुमा अपिल गरेको छ।
मंगलबार सिप्यानले प्रेस विज्ञप्ति निकाल्दै मोटरसाइकल दुर्घटनामा परेका क्रिकेट खेलाडी ललितलाई आर्थिक सहयोग गर्न अपिल गरेको हो। आइतबार कञ्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग ललितले चलाई रहेको म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा उनी घाइते भएका थिए। तत्काल धनगढीमा सामान्य उपचारपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो। उनलाई थप उपचारको लागि सिम्रिक एयरबाट सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान मात्रै ललितको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिँदै आत्तिनु पर्ने अवस्था नरहेको सबै सुभचिन्तकलाई जानकारी गराएको थियो। खतरामुक्त भए पनि उपाचारमा निकै ठूलो रकम लाग्ने भन्दै सिप्यानले सबैमा आर्थिक सहयोग गर्न आग्रहसमेत गरेको छ।
विज्ञप्तिमा सिप्यानले लेखेको छ, ‘खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगको लागि पहलकदमी लिने जानकारी गराउँछौं। साथै सिप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अपिल गर्दछौं। सिप्यानले संकलित सबै रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ।’
सहयोग गर्न चाहनेले क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको नाममा सेन्चुरी बैकमा रहेको खाता नम्बर ००१०००२५२९ CA मा जम्मा गर्न सक्नुहुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।