काठमाडौं- सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले असोज ५ गतेबाट यी दुवै सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।
मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनयका लागि सिफारिस गर्ने अपेक्षा गरिएको थियो। यस्तै भदौ २९ गते कार्यकाल सकिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता दिने विषयमा पनि सार्वजनिक दबाब रहेको थियो। तर यी दुवै विषयमा ती मन्त्रीले खुलाउन चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।