काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीको उपचारमा सबै सहयोग राष्ट्रिय टिमले गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ललितको उपचारमा आवश्यक पर्ने सहयोग टिमले गर्ने कप्तान मल्लले बताएका हुन्। कन्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग ललितले चलाइरहेको म २ प ४७०५ नम्बरको मोटरसाइकल ठक्कर हुँदा उनी घाइते भएका थिए।
तत्काल धनगढीमा सामान्य उपचारपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो। उनलाई थप उपचारको लागि सिम्रिक एयरबाट आज काठमाडौं ल्याइएको छ। ग्राण्डी अस्पतालमा थप उपचारको लागि भर्ना भएका ललितको लागि उपाचारमा आवश्यक पर्ने सबै सहयोग टिमले गर्ने कप्तान ज्ञानेन्द्रले बताएका हुन्।
कप्तान ज्ञानेन्द्रले ट्विटरमार्फत भनेका छन्, ‘आज सिम्रिक एअरबाट काठमाडौंको ग्रान्डी अस्पतालमा ललितलाई थप उपचारको लागि भर्ना गरिएको छ। ललितको उपचारको लागि राष्ट्रिय क्रीकेट टिमको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्दछु।’
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान मात्रै ललितको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिएको थियो। आइतबार साँझ दुर्घटनामा परेका ललितको शीघ्र स्वास्थ्य लाभको कामना सबै क्रिकेट खेलाडी, शुभचिन्तक र समर्थकहरुले गरिरहेका छन्।
क्यान अध्यक्ष चतुर बहादुर चन्दले पनि उनको उपचारमा नेपाल क्रिकेट संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।