काठमाडौं-तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग २४ रनले पराजित भएको हो।
म्यान्चेस्टरमा भएको खेलमा २३२ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा २०७ रनमात्रै बनाउन सक्यो। मिडिल अर्डरका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलियाको हार भएको हो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७३, मार्नुस लबुस्चेनले ४८, एलेक्स क्यारीले ३६ रन बनाउनबाहेक अन्य खेलाडीले उच्च रन बनाउन सकेनन्।
९ रन हुँदा डेविड वार्नरलाई गुमाएको अस्ट्रेलियाले ३७ रन हुँदा मार्कुस स्टोइनिसलाई गुमाएको थियो। तर तेस्रो विकेटको लागि कप्तान फिन्च र मार्नुसले १०७ रनको साझेदारी गरेपछि जित नजिक पुगेको थियो। १४४ रन हुँदा तेस्रो विकेटको रुपमा मार्नुस आउट हुँदा अब अस्ट्रेलियालाई १९.१ ओभरमा जितको लागि मात्र ८७ रन चाहिएको थियो भने ७ विकेट अझै बाँकी थियो। तर त्यसपछि अस्ट्रेलियाले लगातार विकेट गुमायो।
अस्ट्रेलियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरनले समान ३–३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन। तर नवौं विकेटका लागि बलर टोम कुरन र आदिल राशिदले उत्कृष्ट प्रदर्शन गर्दै ७६ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन बनाएको थियो। टोम कुरन ३७ रनमा आउट हुँदा आदिल राशिद भने ३५ रनमा अविजित रहे। यसअघि कप्तान इयोन मोर्गनले ४२, जोइ रुटले ३९, क्रिस वोक्सले २६ र जासन रोयले २१ रनको योगदान दिएका थिए। बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पाले तीन र मिचेल स्टार्कले २ विकेट लिएका थिए।
यसअघि भएको पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।