काठमाडौं-विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ।
गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको साउदीस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ।
यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह राजपुतले जानकारी दिए ।
कतारमा पनि यो साता थप २ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो। योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ। समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन्।
हालसम्म विदेशमा रहेका ३३ हजार ६ सय ४७ नेपालीमा कोरोना देखिएको छ ।
कोरोना संक्रमणका कारण विदेशमा २ सय ४३ नेपालीको ज्यान गएको छ भने ३४ हजार २ सय १७ निको भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।