काठमाडौं-इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्ने राम्रो अवसर छ। तीन खेलको सिरिजको दोस्रो खेलमा आइतबार अस्ट्रेलियाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा पनि जित हात पारे एक खेल अघि नै सिरिज आफ्नो पक्षमा पार्नेछ। तीन खेलको टि–२० क्रिकेट सिरिज २–१ ले इंग्ल्यान्डलाई सुम्पेको अस्ट्रेलिया एकदिवसीय सिरिज भने जित्ने लक्ष्यमा छ। यता, इंग्ल्यान्ड पनि अस्ट्रेलियालाई रोक्ने दाउमा छ।
म्यान्चेस्टरमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा सुरु हुँदैछ। आफ्नै घरेलु मैदानमा ब्यहोरेको हारको बदला लिने लक्ष्यसहित इंग्ल्यान्ड मैदानमा उत्रिदै छ। पहिलो खेलमा पाएको सफलताले अस्ट्रेलियाको आत्मविश्वास बढेको छ। जस्तो सुकै अवस्थाबाट पनि टिमलाई उकास्ने ब्याट्सम्यान अस्ट्रेलियासँग छ। डेविड वार्नर, कप्तान एरोन फिन्च, स्टेभ स्मिथ, मार्कुस स्टोइनिस, एलेक्स क्यारी, मार्नुस लबुस्चेन, ग्लेन म्याक्सवेल मिचेल मार्स जस्ता ब्याट्सम्यान छन्। पहिलो खेलमा जित निकाल्दा ब्याटिङमा म्याक्सवेल र मार्सले उत्कृष्ट प्रदर्शन गरे।
बलिङतर्फ पनि अस्ट्रेलियाका जस हजलवोड, पट कुम्मिन्स, मिचेल स्टार्क, एडम जाम्पा लगायतका उत्कृष्ट लयमा रहेका बलर छन्।
इंग्ल्यान्डको पनि बलिङ र ब्याटिङ दुबै राम्रो छ। तर फिल्डिङ भने कमजोर देखिएको छ। पहिलो खेलमा पनि इंग्ल्यान्डको विकेटकिपिङदेखि फिल्डिङमा केही समस्या देखिएको थियो। अग्रपंक्तिका ब्याट्सम्यान जासन रोय, जोनी बैरस्टव, जोइ रुट, कप्तान इयोन मोर्गन र जस बटलरले राम्रो ब्याटिङ गरेमा अस्ट्रेलियालाई गाह्रो हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।