काठमाडौं–लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको अक्सनमा क्रिस गेलदेखि कोलिन मुनरो, सकिब अल हसन, साहिद अफ्रिदीसम्मका खेलाडी परेका छन्।
श्रीलंका क्रिकेटले आयोजना गर्ने लंका प्रिमियर लिगमा चर्चित खेलाडीहरुको नाम समावेश भएको हो। अक्टोबर १ मा हुने अक्सनका लागि ‘युनिभर्सल बोस’ को नामले चिनिने वेष्ट इन्डिजका क्रिस गेल, वेष्ट इन्डिजकै डारेन सामी, डारेन ब्राभो रहेका छन्। त्यस्तै, पाकिस्तानका साहिद अफ्रिदी, बंगलादेशका सकिब अल हसन, न्युजिल्यान्डका कोलिन मुनरो, भारतका मुनाफ पटेल, दक्षिण अफ्रिकाका भर्नन फिलान्डर र इंग्ल्यान्डका रवि बोपरालगायतका खेलाडी छन्।
लंका प्रिमियर लिगको अक्सनमा १५० खेलाडीको नाम समावेश छ। लिगमा फ्रेन्चाइज टिम रहेका छन्। प्रत्येक टिममा १९ जना खेलाडी हुनु पर्नेछ। अक्सनबाट एउटा टिमले ६ विदेशी खेलाडी राख्नु पर्नेछ। यो लिगमा ३० विदेशी र ६५ श्रीलंकाका गरी ९५ खेलाडीले खेल्न पाउने छन्।
लंका प्रिमियर लिगमा २३ खेल हुनेछ। डबल राउण्ड रोविनका आधारमा हुने लिगको खेलहरु दम्बुल्ला, पल्लेकेले र हाम्बन्टोटा गरी तीन स्थानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।