काठमाडौं-तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि जित निकालेको छ। शुक्रबार राति भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको हो।
म्यान्चेस्टरमा २९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २७५ रनमात्रै बनाउन सक्यो। इंग्ल्यान्डका लागि साम विलिङ्सले शतक बनाएपनि जित दिलाउन सकेनन्। उनले ११० बलमा १४ चौका र दुई छक्का प्रहार गर्दै ११८ रन बनाए। त्यस्तै, जोनी बैरस्टवले ८५ रनको योगदान दिए।
इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन। ७ रन हुँदा पहिलो विकेटको रुपमा जासन रोयलाई गुमाएको इंग्ल्यान्डले १३ रन हुँदा जोइ रुट दोस्रो विकेटको रुपमा एक रनमा आउट भए। ५५ रन हुँदा कप्तान इयोन मोर्गन ५७ रन हुँदा जस बटलर आउट भएसँगै इंग्ल्यान्ड दबाबमा आएको थियो। बलिङतर्फ अस्ट्रेलियाका एडम्प जाम्पाले ४ र जस हजलवोडले ३ विकेट लिए।
यसअघि टस हारेसँगै ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पनि खराब सुरुवात गरेको थियो। तर ग्लेन म्याक्सवेल र मिचेल मार्सको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २९४ रन बनाएको थियो। म्याक्सवेलले ५९ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ७७ रन बनाए। त्यस्तै, मिचेल मार्सले ७३ रन बनाए। १२३ रन हुँदा ५ विकेट गुमाइसकेको अस्ट्रेलियाका लागि म्याक्सवेल र मार्सले छैटौं विकेटको लागि १२६ रनको साझेदारी गर्दै टिमलाई उकासे। बलिङतर्फ जोफ्रा आर्चर र मार्क वोडले समान ३–३ विकेट लिदा आदिल राशिदले २ विकेट लिए।
यो जितसँगै अस्ट्रेलियाले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।