काठमाडौं- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा अस्ट्रेलिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ।
म्यान्चेस्टरमा शुक्रबार नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सुरु हुनेछ। पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने दुवै टिमको लक्ष्य छ।
इयोन मोर्गनको कप्तानीमा मैदानमा उत्रिने घरेलु टिममा अनुभवी खेलाडी तथा टेस्ट कप्तान जोइ रुटपनि टिममा सामेल छन्।
अस्ट्रेलियाविरुद्धको टि–२० सिरिजमा भने उनी टिममा थिएनन्। तीन खेलको टि–२० सिरिज २–१ ले आफ्नो पक्षमा पारेको इंग्ल्यान्ड एकदिवसीय सिरिज पनि जित्ने लक्ष्यमा छ। बलियो ब्याटिङ लाइन रहेको इंग्ल्यान्डमा कप्तान मोर्गनसँगै रुट, जोनी बैरस्टव, टोम बेनटन, साम बिलिङ्स, जस बटलर, जासन रोयजस्ता ब्याट्सम्यान छन्।
त्यस्तै, मोइन अली, क्रिस वोक्स, साम कुरन जस्ता अलराउण्डर छन्। टि–२० क्रिकेट सिरिजमा खराब नतिजा निकालेको अस्ट्रेलियाको ब्याटिङ एकदिवसीय सिरिजमा भने सुध्रिने अपेक्षा गरिएको छ। राम्रा र उत्कृष्ट ब्याट्सम्यान हुँदा हुँदै पनि टि–२० सिरिज गुमाएको अस्ट्रेलियाले एकदिवसीय सिरिज भने आफ्नो पक्षमा पार्ने दाउमा छ।
कप्तान एरोन फिन्चसँगै, डेभिड वार्नर, एलेक्स क्यारी, मार्नुस लबुसचेन, स्टेभ स्मिथ, मार्कुस स्टोइनिसजस्ता भरपर्दा ब्याट्सम्यान छन्। त्यस्तै, ग्लेन म्याक्सवेल, मिचेल मार्स, ड्यानियल साम्सजस्ता अलराउण्डर छन्। अस्ट्रेलिया टिममा मिचेल स्टार्क, एन्ड्रव टाई, एडम्प जाम्पा, केन रिचार्डसन, नाथन लियोन, पट कुम्मिन्सजस्ता बलर छन्।
१३ तारिखमा दोस्रो खेल खेल्ने अस्ट्रेलियाले १६ तारिखमा तेस्रो खेल खेल्दै इंग्ल्यान्ड भ्रमण सकाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।