काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ पसल संचालनमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले बुधबार निषेधाज्ञा खुकुलो बनाउँदै फुटपाथ पसलसमेत संचालन गर्न सक्ने सूचना जारी गरेकपछि महानगरले ध्यानाकर्षण गराउँदै यस्तो माग गरेको हो।
फुटपाथ पसल संचालन गराउँदा कोरोना भाइरसको जोखिम थप बढ्ने र कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या हुने भन्दै महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण गराएकी हुन्।
‘फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीति रहेको अवस्था समेतलाई मध्यनजर गरी उक्त बुंदामा रहेको 'फुटपाथ पसल तथा ठेला व्यापार' भन्ने वाक्याशं हटाइ वा त्यस्तो व्यापारमा पूर्ण प्रतिवन्ध लाग्ने गरी पुनः आदेश जारी गर्न अनुरोध गर्दै यो ध्यानाकर्षण पत्र प्रेषित गरेकी छु,’ खड्गीले गराएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ २४ गते जारी गरेको आदेशको बुंदा नं. १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११:०० बजेसम्म र बेलुकी ४:०० बजे देखि ७:०० बजेसम्म खोल्न सकिने’ व्यवस्था उल्लेख गरिएको छ।
फुटपाथ पसल तथा ठेला व्यापारलाई खुला गरी कारोबार गर्न सक्ने अवस्थाको विद्यमानताले शहरमा समुदाय तहमा कोरोगा सङ्क्रमण फैलने जोखिममा थप व्यापकता आउन सक्ने, यस प्रकारको व्यापारमा सहभागी हुनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्बन गर्ने सक्ने न्युन सम्भावना र सो को प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने तथा त्यस्ता व्यापारीहरुमा सङ्क्रमण देखिएमा प्रभावकारी ढङ्गले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने समेत ध्यानाकर्षणपत्रमा जनाइएको छ।
उपमेयर खड्गीसहितको महानगरको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालको कार्यकक्षमा पुगी शुक्रबार ध्यानाकर्णषपत्र बुजाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।