काठमाडौं- सरकारले कारोना संक्रमणका कारण अप्ठेरोमा परेका सबै नेपाली नेपाल आउन चाहेमा नेपाल ल्याउन सकिने गरी उडानको व्यवस्था गर्ने भएको छ। यसका लागि उडान संख्या थप गरेर भए पनि व्यवस्था गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।
उपप्रधान मन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तरार्ष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको मन्त्री भट्टराईले जानकारी दिए।
मन्त्री भट्टराईका अनुसार नेपाल आउन चाहनेहरूको पिसिआर रिपोर्ट नेगेटिभ भने अनिवार्य हुनुपर्नेछ। सरकारले यसअघि नै नेपाल आउने सबैको पिसिआर नेगेटिभ रिपोर्ट भएपछि मात्र बोर्डिङ पास उपलब्ध गराउन वायुसेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको छ।
पिसिरआ नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सलाई थप उडान माग गरेमा अनुमति प्रदान गरिने सहमति भएको भट्टराईले जनकारी दिए।
यसैगरी, कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने भएको छ।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशका नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने समेत निर्णय भएको छ।
नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिनेसमेत मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।