काठमाडौं- कोरोनाका कारण विदेशमा अप्ठ्यारो परेका नेपालीहरु स्वदेश फर्काउन उडान संख्या बढाउने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
बुधबार पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतमणी पाण्डेले बताए।
‘छलफलमा विभिन्न मुलुकमा समस्यामा परेका श्रमिकहरुको विषय उठाइएको थियो। त्यसैगरी उद्धार उडान र नेपाल फर्किने यात्रुसंख्याको कोटा वृद्धि गर्नेबारे छलफल भएको छ’ बुधबार हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा ‘वैदेशिक रोजगार पत्रकार समाजले’ ले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा बोल्दै सहसचिव पाण्डेले भने।
सुरुमा दैनिक ५ सय श्रमिक ल्याउने निर्णय भएकोमा संख्या बढाएर ८ सय पुर्याइएको र यसलाई पनि बढाउने तयारी भएको सहसचिव पाण्डेको भनाइ छ।
त्यस्तै बेखर्ची भएर विदेशमा अलपत्र श्रमिकहरुको विषय समेत उठेको उनले बताए।
‘बेखर्ची श्रमिकहरुको उद्धारका लागि एउटा निर्देशिका तयार भएको छ तर किन त्यो निर्देशिका कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा पनि अहिले कुराहरु उठेका छन्’ उनले भने, ‘यो निर्देशिका कार्यान्वयनका सम्बन्धमा के कस्ता बाधाहरु रहेका छन्। ती बाधाहरु फुकाउनका निम्ति नेपाल सरकार तयार छ। त्यो विषयमा पनि अहिले फ्रन्टलाइनमा बसेर काम गर्ने दूतावास, श्रम सहचारीहरुलगायत सबै सरोकारवालाहरुसँग हामीले परामर्श लिएका छौं।’
उद्धार उडानको कमी र नेपाली नियोगहरुको समन्वयको अभावका कारण रोजगारी गुमाएका नेपाली कामदार स्वदेश फर्किन नपाएको देखिएको अधिकांशको बुझाइ छ।
कोरोनाको संक्रमणका कारण अन्तराष्ट्रिय उडान सहज नहुँदा करार अवधि सकिएका, कम्पनी बन्द भएका, रोजगारी र आवासबाट हटाइएका, बेतलवी विदामा पठाइएका, तलव नदिइएका वा तलव कटौती गरिइएका, खान नपाएका, अनभिलेखवद्ध हैसियतमा रहेका, गर्भवती र विरामी जस्ता समस्या र जोखिममा परेका श्रमिकहरू विदेशमै अलपत्र अवस्थामा रहेका छन्।
सरकारले उनीहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम परिचालन गर्ने वारेमा निर्देशिका जारी गरेको छ। तर व्यवहारमा निर्देशिका पिडित कामदारका पक्षमा नरहेको गुनासो बढेको छ।
वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको वेबिनारमा साउदी अरबका लागि नेपाली राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिह राजपुतले साउदी अरब लगायत नेपाली कामदार रहेका गन्तव्य मुलुकहरुमा कोभिडका कारण खाना, बासस्थान र उपचारको अभाव नभएपनि स्वदेश फर्किने उडान सख्या थोरै भएका कारण करार अवधि सकिएका कामदार मानसिक तनावमा रहेको बताए।
सम्बन्धित मुलुकहरुबाट नेपाल फर्किने नियमित उडान नभएको र अनुमति पाएका नेपाली उडानहरुपनि नियमित नहुँदा स्वदेश फर्किने टिकट लिएका कामदारहरुमा आक्रोस बढेको भन्दै उडान नियमति गर्ने विषयमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
विदेशमा काम गर्ने आप्रवासी कामदारहरु निरन्तर रुपमा अनेक प्रकारका समस्याहरुको सामना गरिरहने वर्ग रहेको भन्दै कोरोना भाइरसको संक्रमणले आप्रवासनको प्रक्रियालाई उल्टाएको भन्दै राजदूत राजपुतले त्यसले नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक खाडीका देशहरुमा गंभीर समस्या सिर्जना गरिरहेको बताए।
टिकटको प्रबन्ध गर्ने ट्राभल एजेन्सीले नेपालली बैकमा जहाज भाडाको रकम भुक्तानी हुनुपर्ने अडान राखेका कारण मंगलबार स्वदेश फर्किन नपाएका कामदार कम्पनी परिसरमा नारावाजीमा उत्रिएको विषय सामान्य आक्रोशको विषय भन्दै राजदुत राजपुतले लोकतान्त्रिक अधिकारको उपभोग गरिरहेका नेपाली नागरिकका लागि सामान्य विषय रहेको र आफूले पनि त्यसलाई सामान्य रुपमा लिएको टिप्पणी गरे।
मंगलबार फर्किन नपाएका कामदारहरु १८ सेप्टेम्बरमा फर्किने तय भएको समेत उनले बताए।
हाल स्वदेश फर्किन दबाब दिने कामदारहरु दुई वर्षे करार अवधिभित्रका भन्दापनि पहिले नै श्रम सम्झौता अर्थात् करार अवधि सकिएका धेरै रहेको दाबी गर्दै वास्तविक पिडितको उद्धार गर्ने विषयमा दुतावास प्रतिबद्ध रहेको उनको भनाइ छ।
त्यस्तै वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउन प्रवाहहीन देखिएको कार्यविधिलाई संशोधन गरी श्रमिकलाई विभेद नहुने तथा अलेखबद्धलाई समेत समेट्ने गरी कार्याविधि सुधार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलाई सुझाव दिए।
गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा आवागमन नियन्त्रण आदेश (एमओसी) लागू हुनुअघि नेपाल फर्किन जहाज टिकट लिएका करीब दुई हजार कामदार स्वदेश फर्किन नपाएका कारण उनीहरु समस्यामा रहेको जानकारी दिदै उद्धार तथा नियमित उडानको जहाजभाडा कामदारहरुको क्षमताभन्दा बढी भएकाले समस्या गहिरिएको बताए।
हाल मलेसियाबाट नेपाल फर्किनै पर्ने वाधयतामा १५ देखि २० हजार कामदार रहेको जानकारी दिँदै अध्यक्ष भट्टराईले उनीहरुलाई वैदेशिक रोजगार कोषको रकम प्ररिचालन गरी उद्धार गर्नु पर्नेमा जारी भएको निर्देशिकाले कोषको रकम परिचालनमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई तत्काल परिमार्जनको आवश्यकता रहेको सुझाव दिए।
गैरआवासीय नेपाली संघ कतारद्वारा गठित उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले कतार सरकारको सहकार्यमा जनचेतना कार्यक्रम तथा खाद्यान वितरण गरी समस्यामा रहेका नेपाल कामदारहरुलाई सहयोग पुर्याएको जानकारी दिँदै ५५ जनालाई नेपाल फर्कने जहाज टिकट उपलब्ध गराएको जानकारी दिए। उनले पनि नेपालबाट उडान नियमित गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।