काठमाडौं– नेपालका लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन दिनप्रतिदिन राम्रो हुँदै गएको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सन्दीपले खेलेका तीन संस्करणलाई मूल्याङ्कन गर्दा पनि यो पटक झनै उनको प्रदर्शन जुझारु देखियो।
सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज यो संस्करणको सिपिएल क्रिकेटमा सेमिफाइनलभन्दा अघि बढ्न सकेन। सिपिएलमा तलावाजको ब्याटिङ बिर्सन लायक रह्यो भने सन्दीप र मुजिब उर रहमान जस्ता लेग स्पिनरको खुबै तारिफ भयो। टिमका लागि मात्रै हैन सिपिएलमै सन्दीप उत्कृष्ट बलरहरुमा ठहरिए। लिग चरणका प्रत्येक खेलमा विकेट लिने उनी तलावाजका एक मात्र बलर हुन्।
सन्दीपले यो पटक ११ खेलको १० इनिङबाट १२ विकेट लिए। सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा छन्। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
उनले यो संस्करणमा कूल ४० ओभर बलिङ गरेका छन्, जसमा १ ओभर मेडनसहित २११ रन खर्चिदा १२ विकेट लिन सफल भए। उनको इकोनोमी ५.२७ रहेको छ। जुन सिपिएलमा उनले खेलेका यो तीन संस्करणकै उत्कृष्ट हो। उनको एभरेज १७.५८ छ। इकोनोमीकै तुलना गर्ने हो भने उनी सिपिएलकै उत्कृष्ट बलरको दोस्रो स्थानमा छन्। १२ विकेट नै लिएका मोहम्मद नाबीको इकोनोमी रेट ५.०८ रहेको छ।
यस पटक सन्दीपको उत्कृष्ट बलिङमध्ये गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा रह्यो। ४ ओभर बलिङ गरेका सन्दीपले मात्र ८ रन खर्चिएर २ विकेट लिए। यो खेलमा उनको इकोनोमी रेट २ रहेको थियो। १८ पटक डट बल फालेका उनले चौका र छक्का खाएनन् मात्र एक रन वाइडबाट दिए।
सन्दीपलाई तलावाजले यो पटकको संस्करणमा आफ्नो टिममा करिब १ करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको थियो। सन्दीपको खेलबाट टिम सन्तुष्ट छ।
राम्रोपछि राम्रै
२०१९ को संस्करणमा भने सन्दीपले बारबाडोस ट्रिडेन्ट्सबाट खेलेका थिए। त्यो २०१९ को संस्करणमा बारबाडोस दोस्रो पटक च्याम्पियन भयो। तर सन्दीपले भने त्यो विजयी भावलाई आत्मसाथ गर्न पाएनन्। उनी बीचैमा लिग छोडेर नेपाली राष्ट्रिय टिमका लागि सिंगापुर सिरिज खेल्न उडेका थिए।
त्यो समयमा लिग छोड्नु पर्दाको जतिको पीडा सन्दीपलाई अरु लागेको थिएन। तर उनले बीचैमा टिम छोडे पनि बारबाडोस च्याम्पियन बन्यो। दोस्रो पटक सिपिएल खेल्दै गरेका सन्दीपले ६ खेलबाट ८ विकेट लिएका थिए। उनले कूल १९.५ ओभर बलिङ गर्दा १ ओभर मेडनसहित १२९ रन खर्चिएर ८ विकेट लिएका थिए। त्यो बेला उनको इकोनोमी ६.५० रहेको थियो। सन्दीपलाई बारबाडोले ७० हजार अमेरिकी डलरमा आफ्नो क्लबमा अनुबन्धित गरेको थियो। सन्दीपको प्रदर्शनले टिमलाई निराशभन्दा पनि उत्साह नै थपेको थियो।
सन्दीपको सिपिएल यात्रा भने २०१८ देखि हो। जहाँ सन्दीपले सिपिएल सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सबाट खेले। ५ हजार डलरमा उनी पहिलो पटक सिपिएल खेल्न छानिएका थिए। त्यसो त सन्दीपले आफ्नो पहिलो लिग पनि पूरै खेल्न पाएनन्। सिपिएल चलिरहेकै बेला सन्दीपले बिचैमा छोडेर नेपालको खेलका लागि मलेसियामा हुने एसिया कप छनोटका लागि उड्नु परेको थियो। सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सबाट सन्दीपले २०१८ मा मात्र ५ खेल खेल्न भ्याए। आफ्नो डेब्यु सिपिएलमै उत्कृष्ट प्रदर्शन गर्दै छोटो समयमै सबैको मन जित्न सफल भए।
सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सका लागि उनले ५ खेल खेल्दै ७ विकेट लिए। २०१८ को संस्करणमा कूल १७ ओभर बलिङ गरेका सन्दीपले एक ओभर मेडनसहित १०६ रन खर्चिएर ७ विकेट लिएका थिए। उनको इकोनोमी रेट ६.२३ रहेको थियो।
सन्दीपले सिपिएलमा आफ्नो पहिलो खेलमा नै उत्कृष्ट बलिङ गर्दै सबैबाट तारिफ पाएका थिए। सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सका सन्दीपले त्यसबेला गुयाना अमेजन वारियर्सविरुद्ध ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर २ विकेट लिएका थिए। तर उनले त्यो बेला देशका लागि बीचैमा सिपिएल लिग छाडेका थिए।
इन्डियन प्रिमियर लिग (आइपिएल) बाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो यात्रा थालेका सन्दीपले छोटो यो समयअवधिमा विश्वका चर्चित सबै लिग खेलिसकेका छन्। कुनै बेला बिग ब्यास खेल्ने आफ्नो सपना भएको भन्दै आएका सन्दीपको अबको सपना भने फेरिएको छ। अब उनको लक्ष्य जसरी भए पनि राम्रो प्रदर्शन गरिरहनु, टिममा परिरहनु नै हो।
सेप्टेम्बर १९ बाट आइपिएल युएईमा सुरु हुँदैछ। सन्दीप वेष्ट इन्डिजबाट स्वदेश नफर्किई उतैबाट युएई प्रस्थान गर्दैछन्। लगातार तेस्रो पटक दिल्ली क्यापिटल्सबाट सन्दीपले आइपिएल खेल्न लागेका हुन्। सन्दीपका लागि जति टिममा पर्न जमैका तलावाजमा सहज थियो, त्यो सहजता उनले दिल्ली टिममा पाउने छैनन्। अमित मिश्र, रविचन्द्रन अश्विन जस्ता भेट्रान बलर छन्।
गएको दुई सिजनमा पनि सन्दीपको दिल्ली यात्रा सुखद रहेन। तर दिल्लीले नै सन्दीपलाई यो उचाईमा पुर्याउन भूमिका खेलेको भने पक्कै हो। विगतमा भन्दा पनि यो पटक टिममा पर्न झनै चुनौती थपिएको छ। अश्विनको आगमनले सन्दीपलाई प्लेइङ सेटमा पर्न झन कठिन भएको हो। विगतमा जस्तै यो पटक पनि दिल्ली टिममा सन्दीप बेन्च खेलाडी हुन्छन् या खेल्छन् त्यो समयले देखाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।