काठमाडौं-क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको फाइनलमा उपाधिका लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै फाइनलमा ट्रिनबागोसँगको भेट पक्का गरेको हो। ट्रिनबागोले भने पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।
५५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको सेन्ट लुसियाले ४.३ ओभरमै विना विकेट लक्ष्य भेटायो। टस हारेर पहिले ब्याटिङ गरेको गुयाना अमेजन वारियर्स खराब खेल्दै ५५ रनमै समेटिएको थियो।
त्यस्तै, मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०७ रन मात्रै बनाएको थियो। १०८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। अब सिपिएलको फाइनल खेल बिहीबार राति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।