काठमाडौं-तीन खेलको टि-२० क्रिकेट सिरिजको अन्तिम खेलमा अस्ट्रेलियाले सान्त्वना जित निकालेको छ। योसँगै इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो पोल्टामा पार्न सफल भयो।
साथउह्याम्पटनमा भएको अन्तिम खेलमा घरेलु टोली इंग्ल्यान्डलाई अस्ट्रेलियाले पाँच विकेटले पराजित गरेको हो। १४६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले तीन बल बाँकी छँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३९ रन बनाउँदा मिचेल मार्सले पनि अविजित ३९ रन बनाए। मार्कुस स्टोइनिसले २६, एस्टन एगरले अविजित १६ र माथेव वाडले १४ रन बनाए। बलिङतर्फ आदिल राशिदले तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डको सुरुवात राम्रो हुन सकेन। चार रन हुँदा टोम बेन्टन व्यक्तिगत दुई रनमा आउट भए। इंग्ल्यान्डका लागि जोनी बैरस्टवले ५५, जोइ डेनलीले अविजित २९, कप्तान मोइन अलीले २३ र डेविड मलनले २१ रन बनाए। बलिङतर्फ एडम जाम्पाले दुई विकेट लिए।
यसअघि पहिलो खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग २ रनले पराजित भएको थियो। दोस्रो खेलमा ६ विकेटले पराजित भएको अस्ट्रेलियाले एक खेल अघि नै सिरिज इंग्ल्यान्डलाई सुम्पिएको थियो। अब अस्ट्रेलियाले इंग्ल्यान्डसँग ३ खेलकै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ। पहिलो खेल सेप्टेम्बर ११ तारिखमा हुनेछ। त्यस्तै, १३ तारिखमा दोस्रो खेल खेल्ने अस्ट्रेलियाले १६ तारिखमा तेस्रो खेल खेल्दै इंग्ल्यान्ड भ्रमण सकाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।