काठमाडौं- सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ। मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार ब्यहोर्दै जमैका तलावाज सिपिएल क्रिकेटबाट बाहिरिएको हो।
खराब ब्याटिङ जमैकाको मुख्य हारको कारण बन्यो। १०८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागो नाइट राइडर्सले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेटायो।
ट्रिनबागो नाइट राइडर्सको जितमा लेन्डल सिमोन्स र टियोन वेबस्टरले उत्कृष्ट ब्याटिङ गरे। सिमोन्सले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए। त्यस्तै, वेबस्टरले ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ४४ रन बनाए। सिमोन्स र वेबस्टरले ९७ रनको साँझेदारी गर्दै टिमलाई फाइनलमा पुर्याएका हुन्।

यो सेमिफाइनल खेलमा जमैका तलावाजको ब्याटिङ मात्रै हैन बलिङ पनि उत्कृष्ट हुन सकेन। मुजिब उर रहमानले मात्र १ विकेट लिए भने अन्य बलर महंगो सावित भए। सन्दीप लामिछाने पहिलो पटक विकेट विहीन भए। यसअघिको १०औं खेलसम्म सन्दीपले प्रत्येक खेलमा विकेट लिदै आएका थिए। तर सेमिफाइनलको यो खेलमा भने उनले विकेट लिन सकेनन्। ४ ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चिए। यसअघिको लिग चरणको खेलमा भने सन्दीपले १२ विकेट लिएका छन्।
तीन खेलाडीको मात्रै दोहोरो अंक
यसअघि ब्रायन लारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जमैका तलावाजले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०७ रन मात्रै बनायो।
जमैका तलावाजका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। दोहोरो अंक बनाएका खेलाडीले पनि उत्कृष्ट ब्याटिङ गर्न सकेनन्। शून्यमा ओपनर जर्मिन ब्लाकवोल्डलाई गुमाएको जमैकाले २ रन बनाउँदा अर्का ओपनर ग्लेन फिलिप्स आउट भए। १० रन हुँदा मुजिब उर रहमान पनि शून्यमै पेभिलियन फर्किए।
२५ रन हुँदा आसिफ अली व्यक्तिगत चार रनमा आउट भएपछि टिम पूरै दबाबमा आएको थियो। जमैका तलावाजका लागि नक्रुमाह बोनरले ४१ रन बनाए। तर उनले ४२ बलमा चार चौका प्रहार गर्दै उक्त रन बनाए। कप्तान रोभमन पावेलले ३५ बलमा ३३ रन बनाए। त्यस्तै, कार्लोस ब्राथवेटले २० बलमा मात्र १३ रन बनाए।
जमैका तलावाजको ब्याटिङ ट्रिनबागो नाइट राइडर्सका स्पिनरले ध्वस्त पारे। ट्रिनबागो नाइट राइडर्सले आफ्नो चार स्पिनरलाई मैदानमा उतारे। अकल हुसेनले ४ ओभरमा एक ओभर मेडनसहित १४ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, ख्यारी पिरेले २ विकेट लिँदा सुनिल नारिन र फवाद अहमदले समान १–१ विकेट लिए।
ट्रिनबागो नाइट राइडर्सले अब फाइनलमा गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।