काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलका खेल आज (मंगलबार) राति हुँदैछन्।
पहिलो सेमिफाइनलमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनलमा गुयाना अमेजन वारियर्सले सेन्ट लुसिया जुक्ससँग खेल्नेछ। जमैका र ट्रिनबागोबीचको खेल नेपाली समय अनुसार राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। त्यस्तै, वारियर्स र जुक्सबीचको खेल राति ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।
लिग चरणको खेलमा ट्रिनबागोसँगको जमैका पहिलो खेलमा ७ विकेटले र दोस्रो खेलमा १९ रनले पराजित भएको थियो। लिग चरणमा भोगेको हारको बदला लिदै जमैका फाइनलमा प्रवेश गर्ने दाउमा छ। यता ट्रिनबागो भने आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। लिग चरणका खेलमा शतप्रतिशत नतिजा निकालेको ट्रिनबागो जमैकालाई पराजित गर्दै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।
ट्रिनबागोमा उत्कृष्ट ब्याट्सम्यान र फिनिसर छन्। सुनिल नारिन, कोलिन मुनरो, टिम सेफर्ट, किइरोन पोलार्ड, ड्यारेन ब्राभो, जस्ता खेलाडी छन्। यी खेलाडी जमैकाका लागि घातक सावित हुन सक्छ। जमैकाको बलिङ स्पिनर सन्दीप लामिछाने र मुजिब उर रहमानमा निर्भर छ। ओसान थोमस र फिडेल इडवार्डको बलिङ मध्यम रहँदा टिमले बलिङबाटै जस पाउँदै आएको छ। तर ब्याटिङ भने सन्तुलित छैन।
स्टार र राम्रा ब्याट्सम्यान भएपनि लयमा देखिएका छैनन्। ग्लेन फिलिप्स, आसिफ अली, आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक वाल्टन, रोभमन पावेल जस्ता ब्याट्सम्यानहरु चल्न नसक्दा जमैका तलावाज लिग चरणका ६ खेलमा पराजित भयो।
लिग चरणमा शीर्ष स्थानमा रहेको ट्रिनबागोले १० खेलबाट सबैमा जितसहित २० अंक बनाएको थियो। दोस्रो स्थानमा रहेको गुयाना अमेजन वारियर्सले १० खेलबाट ६ खेलमा जित र चार खेलमा हारसहित १२ अंक बनाएको थियो। तेस्रो स्थानमा रहेको सेन्ट लुसिया जुक्सले १० खेलमध्ये ६ खेलमा जित र चार खेलमा हारसहित १२ अंक नै बनाएको थियो। चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल जमैका तलावाजले भने १० खेलमध्ये तीन खेलमा जित, ६ खेलमा हार र एक खेल भने वर्षाको कारण अंक बाँड्दै ७ अंक बनाएको थियो।
सिपिएलको लिग चरणबाटै बाहिरिएको साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने ६ अंक बनाएर पाँचौ स्थानमा आउँदा लिगको पुछारमा रहेको सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सले ३ अंक मात्रै जोड्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।