काठमाडौं–रेल विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको छ। निश्चित ठेकेदारलेमात्र पाउने गरि सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का विवादमा तानिएको थियो। रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै ठेक्का रद्द गरेको जनाएको हाे।
पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो।

विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आव्हान गरिएको थियो। तर, यो खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम नभएको भन्दै विभागको आलोचना हुँदै आएको थियो।
रेलको ठेक्काको विषयमा उच्च अदालत पाटनमा मुद्दासमेत परेको थोयो। उच्चले भने ठक्का प्रक्रिया अघि बढाउन सक्ने फैसला गरेको थियो।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै अधिग्रहण नसकी पूर्वतयारी नसकिएका आयोजनाको ठेक्का नलगाउने भनेको थियो। यसअघि पूर्वतयारी नगरी अघि बढाइएका आयोजना निर्माणमा ढिलाइ भएको र विवादमा फस्दा काम नभएकाले सरकार त्यस्तो निष्कर्षमा पुगेको थियो।
झापा, सुनसरी र मोरङका जिल्ला प्रशासन कार्यालयहरुले प्रस्तावित रेलमार्गमा घरजग्गा पर्नेहरुलाई जेठ अन्तिम साता अधिग्रहणसम्बन्धी सूचना निकालेका थिए। तर, लकडाउनका कारण आयोजना प्रभावित स्थानीयहरुले आफ्ना घरजग्गाको दाबी पेश गर्न पाएका थिएनन्।
रेल विभाग मुआब्जाको मूल्यांकन प्रक्रिया नै नसकी यो १०६ किलोमिटर खण्डमा एकैपटक ठूलो रकमको ठेक्का लगाउन हतारिएको हो। यो खण्डमा साइट क्लियरको पूर्वतयारी पनि भएको छैन।
यहीबीच सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा समस्या आएको भन्दै यो रेलमार्गसहित अन्य ठेक्का १५ दिन स्थगित भएको थियो। सोमबारमात्रै कार्यालयले डकुमेन्ट डाउनलोडको समस्या समाधान भएको भन्दै सूचना प्रकाशित गरेको थियो।
हाल ठेक्का मूल्याङ्कनको चरणमा थियो। रेल विभागका महानिर्देशक बलराम मिश्रले असोज अन्तिमसाता अवकाश पाउँदै छन्। उनी त्यसअघि नै ठेक्काका सबै काम सक्न चाहन्थे। प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेकाले तालुकदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको असहमति हुँदाहुँदै पनि मिश्रले ठेक्का प्रक्रियालाई निरन्तरता दिएका थिए। मिश्रलाई ठेक्का लगाउन ‘माहिर खेलाडी’ का रूपमा लिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।