काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले लकडाउनको स्वरूप परिवर्तन गरेर क्षेत्रगतरूपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विकल्प अघि सारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै व्यवसाय बन्द गर्ने भन्दा पनि व्यवसाय वर्गीकरण गरेर खुला गर्दै जानुपर्ने सुझाव दिएका हुन्।
व्यवसायहरूलाई दुई भागमा वर्गीकरण गर्ने र एकाथरी व्यवसाय जोर दिनमा सञ्चालन गर्ने र अर्कोथरी व्यवसाय बिजोर दिनमा सञ्चालन गर्ने गरी काम गर्नुपर्ने सुझाव उनले दिएका हुन्। 'हामीकहाँ हरेक व्यवसायलाई नम्बर लगाइएको छैन, अन्य देशमा भए जोर नम्बर भएका व्यवसाय जोर दिनमा र बिजोर नम्बर भएका व्यवसाय विजोर दिनमा चलाइएको छ तर तयो हाम्रोमा संभव छैन,' उनले भने, 'यसको सट्टा व्यवसायको प्रकृति र भिडभाड हुने अवस्थासमेतलाई हेरेर खुला गर्दै जानुपर्ने अवस्था आएको छ।'
निरन्तरको लकडाउन र निषेधाज्ञाले काम गरेर खानेको मनोबल खस्केको भन्दै अब नयाँ विकल्पमा जानुपर्ने उनको सुझाव छ। 'कुनै पनि क्षेत्र ठिक छ भन्ने अवस्था नै नहुने अवस्था आउन लागिसक्यो,' श्रेष्ठले प्रधानमन्त्रीसमक्ष भनेका छन्। व्यवसायीले पैसा उठाउन नसक्ने तर आफूसँग भएको पैसा तिरिरहनुपर्ने अवस्था आएकाले त्यसले कठिन परिस्थिति सिर्जना भएको उल्लेख गरे।
उनले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन २ खर्ब रूपैयाँको प्याकेज ल्याउनुपर्नेमा पनि प्रधानमन्त्रीसमक्ष माग गरेका छन्। नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा योजनाको पनि पुनर्संरचना गरिनुपर्नेमा उनले जोड दिएका छन्।
'अबको दिनमा अर्थतन्त्र चलायमान बनाएन भने कोरोनाले होइन, भोकमरीले मान्छे मर्ने दिन आउँदैछ,' उनले भने, 'आफ्नो व्यवसायमा लागेका व्यवसायीले अब काम गर्न सक्दैनन्। भारतले मेट्रो सञ्चालन गर्न लागिसक्यो, हामीले सधैँ बन्द मात्रै गर्ने गर्ने कुरा उपयुक्त भएन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।