काठमाडौं-सेमिफाइनल पुगिसकेको जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा पनि पराजित भएको छ। सेन्ट लुसिया जुक्ससँग जमैका ११ रनले पराजित भएको हो।
सोमबार बिहान भएको खेलमा १४६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जमैकाले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमात्रै बनाउन सक्यो। जमैकाका लागि ग्लेन फिलिप्स र जर्मिन ब्लाकवोल्डले उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा हार्न पुग्यो। फिलिप्सले ३६ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गर्दै ४९ रन बनाए। त्यस्तै, ब्लाकवोल्डले २५ रन बनाए। पहिलो विकेटको लागि फिलिप्स र ब्लाकवोल्डले ८४ रनको साझेदारी गरेका थिए।
निकोलस किर्टनले २५ र चाडविक वाल्टनले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक बटुल्न पनि सकेनन्। आक्रामक ब्याट्सम्यानको परिचय बनाएका आन्द्रे रसेल शून्यमै पेभिलियन फर्किए। बलिङतर्फ जुक्सका जाहिर खान र जाभिल ग्लेनले समान ३–३ विकेट लिँदा केस्रिक विलियम्सले दुई विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। उसको लागि नजिबउल्लाह जाड्रानले ३५ रन बनाउँदा रोस्टन चेसले अविजित ३२ रन बनाए। बलिङतर्फ मुजिब उर रहमानले दुई विकेट लिए।
सन्दीपको १२ विकेट

सन्दीप लामिछानेले भने चार ओभरमा एक मेडन ओभर राख्दै २० रन खर्चिएर एक विकेट लिए। योसँगै सन्दीपले जारी लिगमा १२ विकेट लिएका छन्।
नेपाली युवा स्टार खेलाडी सन्दीप सिपिएलमा सफल बलरको रुपमा स्थापित भएका छन्। उनले सिपिएलको लिग चरणका १० खेलमा १२ विकेट लिएका हुन्। उनले प्रत्येक खेलमा विकेट लिएका छन्।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप पाँचौ स्थानमा छन्। शीर्ष स्थानमा जमैकाका बलर मुजिब छन्। उनले १० खेलबाट १५ विकेट लिएका छन्। दोस्रो स्थानमा गुयाना अमेजन वारियर्सका इमरान ताहिर छन्। उनले पनि १० खेलबाट समान १५ विकेट लिएका छन्। तेस्रो स्थानमा रहेका स्कट कुग्लेजनले १४ विकेट लिएका छन्। चौथो स्थानमा रहेको केस्रिक विलियम्सले १३ विकेट लिएका छन्।
अब पहिलो सेमिफाइनलमा लिग चरणमा अपराजित यात्रा कायम गरेको ट्रिनबागो नाइट राइडर्ससँग जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। खेल त्यस्तै, दोस्रो सेमिफाइनलमा गुयाना अमेजन वारियर्सले सेन्ट लुसिया जुक्ससँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलका दुबै खेल सेप्टेम्बर ८ तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।