काठमाडौं– कोरोना संक्रमित नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जीतबहादुर केसीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सहयोग गरेको छ।
खेलाडी संघले आइतबार जीतबहादुरको घर पुगी स्वस्थ अवस्था बुझ्दै खाद्यान्न सहयोग गरेको हो। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट उनको घर पुगी स्वस्थ अवस्थाको जानकारी लिएका थिए। खेलाडी संघले जीतबहादुरलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामग्री उपलब्ध गराएको छ।
जीतबहादुर अहिले कंलकीमा आफ्नै घरमा होम आइसोलेसनमा बस्दै आएका छन्। जीतबहादुरलाई गत साता कोरोना देखिएको थियो। ७२ वर्षीय जीतबहादुरले कोरोना भाइरसको संक्रमण भएपनि आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखेको बताएका छन्।
उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपको म्याराथनमा कास्य पदक जितेका थिए।
सन् १९७८ मा थाइल्यान्डको बैंककमा सम्पन्न आठौं एसियन गेम्सबाट सन्यास लिँदै उनले आफ्नो खेलाडी जीवनबाट बिदा भएका थिए। खेलाडी जीवनबाट बिट मारेपछि उनी प्रशिक्षकको रुपमा देखा परे। २०६६ सालमा राखेपको एथ्लेटिक्स प्रशिक्षकबाट पनि उनले अवकास पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।