काठमाडौं- काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन्।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। 'चाहेर पनि र नचाहेर पनि दैनिक २ हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको छ। नाकालाई ठप्प पार्न सकिएको छैन।अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिस आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ,' प्रजिअ दाहालले भने।
‘यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ? खाद्यान्न बाहिरबाट आउँछ? आयातित उपभोग्य वस्तु उपभोग गर्ने हो काठमाडौंले। त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ। अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ। सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँ न के फरक पर्छ र? भनेर निर्णय गरेर माथि पठाइयो तर सिसिएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो कि,’ उनले भने।
दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइनभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको उल्लेख गरे। सडकका जड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइनभ्याई भएकाले सिमानामा नेपाली सेनालाई नै खटाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दवाव आउने गरेको बताइन्। ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ। नाका भन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ,’ उनले भनिन्।
योजनाबद्ध रुपमा मानिसलाई उपत्यका भित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनको भनाइ छ। मान्छेलाई आउनै दिन्नँ भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको प्रजिअ पाण्डेले बताइन्।
‘एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ,’ पाण्डेले भनिन्।
भिडियो
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए।
‘अब हाम्रो अगाडि चाडबाडहरु आइरहेका छन्। दशैंजस्तो ठूलो चाड आएको छ। मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ। त्यो अहिले हामीले व्यहोरीरहेका छौं। जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यान फाल्न पनि तयार हुँदोरहेछ। दशैंमा पनि त्यस्तो हुन सक्छ। त्यसो भएको हुनाले दशैंसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ। होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टिमेन्टमा, यो इमोसनमा झन् भयाभह स्थिति हुनसक्छ। त्यसलाई पनि विचार गरेर यो दशैंसम्म अझै सहजीकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ,’ भट्टको भनाइ थियो।
नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए। बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पाउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।