काठमाडौं- ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिलेको निषेधाज्ञा लम्ब्याउनुपर्ने तर्क राखेका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा उनले निषेधाज्ञा आगामी दसैंसम्मै गर्नुपर्ने बताएका हुन्।
'दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैसम्म निषेधाज्ञा गर्नैपर्छ।'
तीजमा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण कम फैलिएको तर्क भट्टको थियो। त्यतिबेला निषेधाज्ञा नभएको भए संक्रमण दर झन् तीव्र हुनसक्ने अनुमान गर्न सकिने उनको भनाइ थियो।
त्यस्तै, काठमाडौंका सिडिओ जनकराज दाहालले भने निषेधाज्ञा खोल्नुपर्ने मत राखेका थिए। ‘रोगले भन्दा पनि भोकले मान्छे मर्ने अवस्था आएको छ। अब लिभिङ विथ कोरोनामा जानुपर्छ’, उनको भनाइ थियो।
उनले सीमा नाकामा सेना परिचालन गर्नुपर्ने तर्क राखेका थिए। प्रहरीले मात्रै सबै काम गर्न नसक्ने उनको भनाइ छ।
भक्तपुरकी सिडिओ हुमकला पाण्डेले भने असहज हुनेहरुलाई सहज बनाउँदै अघि बढ्नुपर्ने मत राखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।