काठमाडौं– सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बारबाडोस ट्रिडेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ।
ब्रायन लारा क्रिकेट रंगशालामा शनिबार राति नेपाली समयअनुसार खेल १२ बजे सुरु हुनेछ। शनिबारको खेलले जमैका तलावाजलाई निकै अर्थ राख्छ। तर बारबाडोस भने प्रतियोगिताबाट बाहिरिसकेको हुनाले उसको लागि यो खेल हारजित मै सीमित हुनेछ। यता, जमैका तलावाजको अबको लडाइँ भनेको लिग चरणमा तेस्रो हुनु हो।
दुई खेलअघि नै सेमिफाइनलमा पुगिसकेको जमैका तलावाज यसअघि बारबाडोससँग भएको खेलमा ३६ रनले पराजित भएको थियो। त्यो हारको बदला लिने लक्ष्यमा पनि जमैका तलावाज छ।
लिगमा ८ खेलमा शतप्रतिशत जित हात पारेको ट्रिनबागो नाइट राइडर्सले १६ अंक बनाउँदै शीर्ष स्थानमा छ। बाँकी दुई खेल हारेपनि ट्रिनबागो लिगको शीर्ष स्थानमै रहनेछ। यो पटक निकै सन्तुलित र बलियो देखिएको ट्रिनबागोले सेमिफाइनलमा लिगको चौथो स्थानमा हुने टिमसँग खेल्नेछ।
लिग चरणका पहिलो खेलमा ट्रिनबागोसँग सात विकेट र दोस्रो खेलमा १९ रनले पराजित भएको जमैका तलावाज कुनै पनि हालतमा ट्रिनबागोसँग सेमिफाइनलमा भेट नहोस् भन्ने लक्ष्यमा छ। त्यही भएर जमैका तलावाज बाँकी रहेको दुवै खेलमा जित हात पार्दै लिग चरणमा तेस्रो स्थानमा आउन चाहन्छ। त्यसको लागि शनिबार रातिको खेलमा बारबाडोस ट्रिडेन्ट्सलाई पराजित गर्नुको विकल्प छैन।
तर जमैका तलावाज तेस्रो स्थानमा आउनको लागि शनिबार राति नै हुने खेलमा सेन्ट लुसिया जुक्स शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग पराजित हुनैपर्छ। लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्सले १० खेलबाट ६ खेलमा जित र ४ खेलमा हारसहित १२ अंक बनाएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
सेन्ट लुसिया जुक्सको भने ८ खेलमध्ये ५ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै १० अंक छ।
ट्रिनबागोसँग हारे सेन्ट लुसिया जुक्सको ९ खेलबाट १० अंक नै हुनेछ भने जमैका तलावाजले बारबाडोसलाई हराए ९ खेलबाट ९ अंक नै हुनेछ।
लिग चरणको अन्तिम खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्ससँग खेल्नेछ। यो खेलमा जित हात पारे जमैका १० खेलबाट ११ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिनेछ। पराजित भए चौथो स्थानमै लिग चरणका खेल सकाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।