नागार्जुन नगरपालिका ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी
काठमाडौं-नागार्जुन नगरपालिका ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी आफूलाई कोरोना संक्रमण भएको आशंकामा स्वाब दिए। त्यसपछि क्वारेन्टाइनमा बसे। भदौ १२ गते उनको मोबाइलमा परीक्षणको रिपोर्टको एसएमएस आयो। नेगेटिभ रिपोर्ट आएपछि उनी खुसी भए। वडाका धेरै काममा व्यस्त र महामारीको समयमा नेगेटिभ आएपछि उनी फेरि पुरानै दैनिकीमा फर्किए।
‘वडाभरि धेरै काम थियो कोरोना नदेखिएपछि म भेटघाट र कार्यक्रममा सहभागी भएँ,’ उनले भने, ‘नगरप्रमुख मोहन बस्नेतलाई पनि भेट्न गएँ र अरु मानिसलाई पनि भेटेँ, वडामा भएको रक्तदान कार्यक्रममा पनि सहभागी भएँ।’
यसरी उनी दैनिक कार्यमा सक्रिय भइरहेको समयमा भदौ १४ गते पौने ११ बजे मोबाइलमा अर्को एसएसएम आयो। जसमा दुई दिनअघि नेगेटिभ भनिएको रिपोर्ट पोजेटिभ भएको खबर थियो। उनी छाँगाबाट खसे झैँ भए।
स्वाब दिएपछि अलग्गै बसेका उनी अघिल्लो नेगेटिभ रिपोर्टपछि धेरै मान्छेलाई भेटेका थिए। आफ्नो कारणले धेरै मानिसमा संक्रमण हुने डरले उनी के गर्ने, के नगर्ने अलमलमा परे। तत्कालै मेयर बस्नेतलाई जानकारी गराए।

दुई दिन अघि ल्याबले नेगेटिभ दिएको र १४ गते पोजेटिभ दिएकाले तनाव भएको बताए। मेयरसँगको सल्लाहपछि दुवै जना क्वारेन्टाइनमा बस्ने र रिपोर्टबारे सोधीखोजीमा लागे। स्वाब दिएको टेकुमा उनले पुन बुझे। दुई दिनअघि गल्तीले नेगेटिभको एसएमएस गएको तर रिपोर्ट पोजेटिभ नै भएको जानकारी पाए। त्यसपछि चित्त नबुझेपछि वडाअध्यक्ष वुढाथोकी र मेयर बस्नेत परीक्षणका लागि स्टार अस्पताल पुगे। भदौ १५ गते स्वाब दिए।
१६ गते बेलुकी सवा ६ बजे दुवै जनाको रिपोर्ट पोजेटिभ आयो। यसरी दुवैको पोजेटिभ आएपछि अहिले वडाभरि त्रास फैलिएको छ। उक्त रक्तदानमा सहभागी भएका मेयर र वडाध्यक्षसँग सम्पर्कमा रहेकाहरु संक्रमण भयो कि भनेर त्रासमा परेका हुन्।
नगरपालिकाले सूचना जारी गर्दै दुवै जनाको सम्पर्कमा भएकाहरुलाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भनेको छ। नगरले उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ आजबाट गर्दै छ। पहिलो चरणमा उनीहरुको परिवार र रक्तदान कार्यक्रममा सहभागीहरुको परीक्षण हुने छ। अनि अन्यको पनि पिसीआर परीक्षण गर्ने तयारी नगरले गरेको छ ।
वडाध्यक्ष र मेयर अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।