काठमाडौं-अस्ट्रेलिया र घरेलु टिम इंग्ल्यान्डबीचको तीन खेलको टि-२० क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ।
टि-२० सिरिजअन्तर्गत पहिलो खेलमा आज अस्ट्रेलियाले इंग्ल्यान्डसँग साउथह्याम्पटनमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ। कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि क्रिकेट गतिविधि पुनः सुरु भएयता इंग्ल्यान्डले तीन राष्ट्र क्रिकेट सिरिज खेल्दै व्यस्त हुँदै आएको छ।
वेष्ट इन्डिज, आयरल्यान्ड र पाकिस्तानसँग लगातार सिरिज खेल्दै आएको इंग्ल्यान्डले अस्ट्रेलियासँग तीन खेलको टि–२० र तीन खेलकै एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ।
घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै सिरिज आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेको अस्ट्रेलिया टिम निकै बलियो देखिएको छ। त्यसमाथि ब्याटिङ अलराउण्डर ग्लेन म्याक्सवेलको पुनरागमनले पनि टिमको ब्याटिङ झनै बलियो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।