काठमाडौं-सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो।
शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग साविक विजेता बारबाडोस ट्रिडेन्ट्स ६ विकेटले पराजित भएसँगै जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो। बिहीबार राति नै जमैका तलावाज र लिगको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरे पनि प्रत्यक्ष रुपमा जमैकालाई घाटा पुगेको थियो।
लिगमा ८ खेलमा शतप्रतिशत जित हात पारेको ट्रिनबागो नाइट राइडर्सले १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको छ। त्यस्तै, लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्सले १० खेलबाट ६ खेलमा जित र ४ खेलमा हारसहित १२ अंक बनाएर सेमिफाइनलमा प्रवेश गरेको छ। सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ। उसले ८ खेलमध्ये ५ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ। जमैका तलावाजको भने ८ खेलमध्ये ३ खेलमा जित, ४ खेलमा हार र १ खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक बनाएको छ।
सिपिएलको लिग चरणबाटै बाहिरिएको साविक विजेता बारबाडोस ट्रिडेन्ट्सको ९ खेलबाट २ खेलमा जित र ७ खेलमा हारसहित ४ अंक छ। त्यस्तै, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले ९ खेलबाट ३ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।