काठमाडौं-कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिताको बाँकी चार खेलको तालिका सार्वजनिक भएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले लिगको बाँकी चार खेलको खेल तालिका सार्वजनिक गरेको हो। गत मार्चमा खेल चलिरहेकै बेला कोरोनाको महाप्रकोपका कारण प्रतियोगिता नै स्थगित गर्नु परेको थियो। प्लेअफका तीन खेल र फाइनल गरी चार खेल बाँकी छ। पिसिबीले निकालेको तालिका अनुसार चारै खेल लाहोरस्थित गद्दाफी रंगशालामा हुनेछ।
तलिका अनुसार नोभेम्बर १४ तारिखमा दुई खेल हुने छन्। तालिकाको शीर्ष स्थानमा रहेका मुल्तान सुल्तान्सले दोस्रो स्थानमा रहेको कराँची किंग्ससँग क्वालिफायर राउण्डमा प्रतिस्पर्धा गर्नेछ। यो राउण्डको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टिमले इलिमिनेटर राउण्डमा पुग्नेछ। पहिलो इलिमिनेटर खेलमा लाहोर क्वालन्डर्स र पेशावर जल्मीले नोभेम्बर १४ तारिखमै प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमले फाइनल प्रवेशका लागि दोस्रो इलिमिनेटर राउण्डमा क्वालिफायर राउण्डमा पराजित भएको टिमसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नोभेम्बर १५ तारिखमा हुनेछ।
पाकिस्तान सुपर लिग (पिएसएल) को फाइनल खेल भने १७ नोभेम्बरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।