काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकसहित आवश्यक ५ पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। क्यानले बिहीबार विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्धक, वित्त प्रमुख, स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजर गरी ५ पदका लागि खुल्ला दरखास्त आह्वान गरेको हो।
मुख्य प्रशिक्षकका लागि दाबेदारी दिन क्यानले विभिन्न सर्तहरु राखेको छ। जसमा कम्तिमा लेभल थ्री प्रशिक्षण गरेको हुनु पर्नेछ। त्यस्तै, ६० वर्ष ननाघेकाे र थोरैमा तीन वर्षको प्रशिक्षकको अनुभव हुनु पर्नेछ। त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य, प्रथम श्रेणी, आइसिसी एसोसिएट सदस्य वा अन्तर्राष्ट्रिय लिगमा काम गरिसकेको हुनुपर्ने क्यानले उल्लेख गरेको छ।
महाप्रबन्धकका लागि स्नातोकोत्तर पास गरेको हुनु पर्नेछ। ५५ वर्षभन्दा कम उमेरको र कम्तिमा २ वर्ष नेतृत्वदायी पदमा रहेर काम गरेको हुनुपर्ने क्यानले उल्लेख गरेको छ।
त्यस्तै, मुख्य वित्त प्रबन्धकका लागि शैक्षिक योग्यता व्यवस्थापनमा स्नातकोत्तर गरेको हुनु पर्ने क्यानले तोकेको छ। कम्तिमा पाँच वर्ष काम गरेको र ५५ वर्षभन्दा कम उमेरको हुनु पर्नेछ। सातै प्रदेशका लागि क्यानले पहिलो पटक प्रशिक्षक राख्ने भएको छ। त्यसका लागि प्रत्येक प्रदेशमा एक जना प्रशिक्षक रहने गरी आवेदन मागेको हो। प्रदेश प्रशिक्षकका लागि लेभल वान प्रशिक्षण गरेको हुनु पर्नेछ। २५ वर्ष पूरा भइ ५५ वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।
क्यानले क्रिकेट म्यानेजर पदका लागि पनि दरखास्त आह्वान गरेको छ। ५५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। जसमा लेभल टु गरेको हुनुपर्ने छ भने व्यवस्थापनमा स्नातकाेत्तर पास गरेको मात्रै योग्य ठहरिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।