काठमाडौं- न्युजिल्यान्ड क्रिकेट बोर्डले मुख्य प्रशिक्षक ग्यारी स्टेडको सम्झौता तीन वर्ष थप गरेको छ। योसँगै ग्यारीले न्युजिल्यान्ड पुरुष क्रिकेट टिमलाई भारतमा २०२३ मा हुने विश्वकपसम्म हेर्ने छन्।
न्युजिल्यान्ड क्रिकेट बोर्डले उनलाई सन् २०१८ मा नियुक्त गरेको थियो। माइक हेसनपछि उनले न्युजिल्यान्ड टिम सम्हालेका थिए। ४८ वर्षीय ग्यारीकै प्रशिक्षणमा न्युजिल्यान्ड २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। तर फाइनलमा घरेलु टिम इंग्ल्यान्डसँग पराजित हुँदै पहिलो पटक विश्वकप जित्नबाट वञ्चित भएको थियो।
अहिले न्युजिल्यान्ड टेस्ट क्रिकेटको वरियतामा दोस्रो नम्बरमा छ। त्यस्तै, एकदिवसीयमा तेस्रो र टि-२० क्रिकेटमा छैटौं स्थानमा छ।
पुनः नियुक्ति भएसँगै मुख्य प्रशिक्षक ग्यारीले टिमको लक्ष्यलाई पूरा गर्ने दाबी गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ खेलाडीहरु अहिले एक ढिक्का भएर अघि बढिरहेका छन्। आगामी दिनमा हाम्रो रोमाञ्चक कार्यक्रम छ। आशा छ कि आगमी तीन वर्षमा टिमको आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्न सकौं।’
त्यसो त आइसिसी विश्व टेस्ट च्याम्पियनसिपका तालिका कोरोना भाइरसले गर्दा अर्को वर्षका लागि सरेको छ। त्यस्तै, यसै वर्ष अस्ट्रेलियामा हुने भनिएको टि–२० विश्वकप क्रिकेट पनि २०२१ मा सरेको छ। अहिले तत्काल कुनै प्रतियोगिता तथा सिरिज नभएपनि आगामी दिनमा न्युजिल्यान्ड टिम धेरै व्यस्त हुनेछ। २०२१ देखि एकदिवसीय, टेस्ट र टि–२० सिरिज, विश्वकपलगायतका एकपछि अर्को प्रतियोगिता हुँदा ग्यारीलाई अवसरसँगै चुनौती थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।