काठमाडौं- नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा काठमाडौं र चितवनका ३/३ जना संक्रमितको मृत्यु भएको छ।
चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ। ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बारामा ९७, भक्तपुरमा ४० र धादिङमा ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ जना छन्।
पछिल्लो २४ घण्टामा १ हजार ११२ जना संक्रमण मुक्त भएका छन्। योसहित हालसम्म २३ हजार २९० जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।