काठमाडौं-अन्तिम खेलमा इंग्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै पाकिस्तानले तीन खेलको टि–२० क्रिकेट सिरिज बराबरीमा टुंग्याएको छ।
म्यान्चेस्टरमा भएको टि-२० क्रिकेट सिरिजको अन्तिम खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ५ रनले पराजित गर्न सफल भयो। यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिज १–१ को बराबरीमा टुंग्याएको हो। पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।
१९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा १८५ रन मात्रै बनाउन सक्यो। इंग्ल्यान्डका लागि मोइन अलीले आक्रामक खेल्दै ३३ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए। त्यस्तै टोम बेनटनले ३१ ब्लमा ४६ रन बनाए। बलिङतर्फ साहिन शाह अफ्रिदी र वाहब रियाजले समान २-२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९० रन बनाएको थियो। २ रन हुँदा फखर जमान र ३२ रन हुँदा कप्तान बाबर अजामलाई गुमाएको पाकिस्तानका लागि मोहम्मद हफिज र पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हैदर अलीले उत्कृष्ट ब्याटिङ गरे। मोहम्मद हफिजले ५२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै अविजित ८६ रन बनाए। त्यस्तै, हैदर अलीले ३३ बलमा ५४ रन बनाए। मोहम्मद र हैदरले पाकिस्तानको इनिङ उकासेका थिए। बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।
प्लेयर अफ द सिरिज मोहम्मद हफिज घोषित भए। पहिलो खेल वर्षाको कारण बाधक हुँदा दोस्रो खेलमा भने पाकिस्तान इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो। यसअघि भएको तीन खेलकै टेस्ट क्रिकेट सिरिज भने इंग्ल्यान्डले जित्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।