काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमाइका तलावाजले सातौँ खेल हारेको छ। यसअघि तीन जित र तीन हार भएको तलावाज मंगलबार राति ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो।
पहिले टस जितेर तलावाजले फिल्डिङ रोजे पनि सोचेजस्तो किफायति बलिङ गर्न सकेन। न त सुरुवातमा सम्हालिएको ब्याटिङ नै गर्न सक्यो। पहिले ब्याटिङ गरेको नाइट राइडर्सले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो। जहाँ सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए। जुन प्रतियोगितामा उनको १०औँ विकेट हो।
१ सय ८५ रनको लक्ष्य पछ्याएको तलावाजले पूरा २० ओभर खेल्दै ६ विकेट जाँदा १ सय ६५ रन मात्र बनाउन सक्यो। पहिलो बलमा नै चाडविक वाल्टनको विकेट गुमाएको तलावाजले त्यसपछि सम्हालिएर खेल्न सकेन। रसेल र ब्रेथवेटले अन्तिमतिर गरेको प्रयास पनि पर्याप्त भएन।
बोनर र फिलिप्सले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे। फिलिप्सले ३१ बलमा ४१ रन, बोनरले ३० बलमा २६ रन बनाएर आउट भए। रसेलले २३ बलमा अविजित ५० रन बनाए। ब्रेथवेटले १६ बलमा अविजित २१ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको नाइट राइडर्सका लागि कोलिन मुन्रोले ५४ बलमा ६५ रन बनाएका थिए। लेन्ड सिमोन्सले २८ बलमा २५ रन, सुनिल नाराइनले ११ बलमा १९ रन बनाएका थिए। यस्तै टिम सेफर्टले १३ बलमा १८ रन र कायरन पोलार्डले १६ बलमा ३३ रन बनाए।
७ खेलमा ३ खेल जितेर ४ खेल हारेको तलावाज अंक तालिकामा चौथो स्थानमा छ। यसअघि पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई पाँच विकेटले हराएको तलावाज दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले हारेको थियो।
यस्तै तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग १४ रनले हारेको तलावाजले चौथो खेलमा गुएनालाई नै पाँच विकेटले हराएको थियो। पाँचौँ खेलमा बार्बाडोस ट्रिडेन्ससँग २६ रनले हारेको तलावाजले छैटौँ खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।