विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर जोरबिजोर प्रणालीमा मात्र निजी सवारी साधन संचालन गर्न दिने भएको छ। भाडाका सिटी रिक्सा, अटो रिक्सा लगायतमा भने अधिकतम २ जनासम्म मात्र बसेर कुदाउन सकिने गरी प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आदेश जारी गरेका छन्।
निषेधाज्ञाका केही व्यवस्था खुकुल्याइए पनि भदौ २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा भने जारी नै छ।
जिल्लामा सबै पसलहरू दिउँसो ४ बजेसम्म मात्र खुला गर्न पाइने भएको छ। ‘खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध, डेरी, हार्डवयर, कपडा पसल लगायतका पसलव्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाईजरको प्रयोग गर्ने तथा नेपाल सरकारबाट जारी भएको सुरक्षा मापदण्ड, जनस्वास्थ्य मापदण्ड, उद्योग व्यापार आपूर्ति सम्बन्धी मापदण्ड लगायत अन्य मापदण्डहरु समेतको पालना गरी अर्को सूचना नभएसम्मका लागि दिउँसो ४:०० बजेसम्म मात्र पसल संचालन गर्ने,’ प्रजिअ निराैलाले जारी गरेको आदेशमा उल्लेख छ।
जिल्लाभरका कुनै पनि स्थानमा राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पूर्ण रुपमा निषेध गरिएको छ। जिल्लामा प्रवेश गर्न अनुमति निलिई कुनै पनि सवारी साधनले प्रवेशसमेत नपाउने भएका छन्।
हालसम्म मोरङमा करिब १६ सय जना संक्रमित छन् भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यस्तो आदेशका मुख्य विषय
क) जिल्लाभरी जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बर अनुसार निजी सवारी साधन यातायात लगायत अन्य मापदण्डको पालना गरेर सचालन गर्ने र हाललाई अर्को सूचना नभएसम्म सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने ।
ख) सिटी रिक्सा जोर बिजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्ने ।
ग) खापवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध, डेरी, हार्डवयर, कपडा पसल लगायतका पसल- व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाईजरको प्रयोग गर्ने तथा नेपाल सरकारबाट जारी भएको सुरक्षा मापदण्ड, जनस्वास्थ्य मापदण्ड, उद्योग व्यापार आपूर्ति सम्बन्धी मापदण्ड लगायत अन्य मापदण्डहरु समेतको पालना गरी अर्को सूचना नभएसम्मका लागि दिउँसो ४:०० बजेसम्म मात्र पसल संचालन गर्ने । अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु शनिबार पूर्ण रुपमा बन्द गर्ने तर औषधी पसलहरु नियमित रुपमा सञ्चालन गर्ने ।
घ) होटेल तथा रेष्टुरेण्टले अनलाईन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयम् आएर प्याकिङ गरी लैजाने टेक अवे विधिलाई प्रयोग गरी सञ्चालन गर्ने । होटेलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाउने ।
ङ) सैलुन, ब्युटीपार्लर, गुद्री बजार, हटिया, सब्जीमण्डी, जिमखाना, कभर्ट हल हाललाई सञ्चालन नगर्ने ।
च) दैनिक रुपमा गरिने नित्य पुजा-प्रार्थना आहेकका धार्मिक तथा सांस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा, हाट-बजार, महोत्सव, भेला तथा अन्य सामुहिक गतिविधिहरु गर्न, गराउन नपाउने ।
छ) सरकारी कार्यालय/निकायहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखी मिति २०७४।०५।२१ गतेदेखि तालिका अनुसार सेवा सञ्चालन गर्ने । अत्यावश्यक सेवाहरु नियमित सञ्चालन गर्ने ।
ज) उद्योगहरुले नेपाल सरकारबाट निर्धारित बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड, जनस्वास्थ्य मापदण्ड, यातायात मापदण्ड लगायत अन्य मापदण्डहरु समेतको पालना हुने गरी उद्योग सञ्चालन गर्ने ।
झ) जिल्लाभरिको कुनै पनि स्थानमा राती ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म हिड्डुल नगर्ने । अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनी तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरुलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नदिने ।
ञ) ICP बाट हुने निकासी, पैठारी र नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम छिमेकी मित्रराष्ट्र भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिक बाहेक अन्य आवागमन गर्न नपाउने ।
ट) ICP बाट आएका मालबाहक ट्रकलाई उद्योग परिसर बाहेक बाटोमा अन्यत्र नरोक्ने । उद्योगमा अनिवार्य रुपमा निसंकमण गर्ने ।
ठ) अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्न, मूल्यवृद्धि गर्न, जम्माखोरी, लुकाउने बा आपूर्ति अवरोध गर्न नपाउने ।
ड) सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास बाहेक अन्य कुनै पनि जिल्लाको सवारी साधन यस जिल्लाभित्र प्रवेश गर्न नपाउने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।