काठमाडौं-दोस्रो टि–२० क्रिकेट खेलमा घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ। पाकिस्तानमाथि इंग्ल्यान्डले ५ विकेटको रोमाञ्चक जित निकालेको हो।
म्यान्चेस्टरमा १९६ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। ६.२ ओभरमा जोन्नी बैरस्टवलाई व्यक्तिगत ४४ रन हुँदा इंग्ल्यान्डले पहिलो विकेटको रुपमा गुमाएको थियो। उनले मात्र २४ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। त्यसपछि ब्याटिङ गर्न आएका डविड मलान र कप्तान इयोन मोर्गनले टिमलाई जिततर्फ डोर्याए।
विस्फोटक ब्याटिङ गरेका कप्तान मोर्गनले ६६ रन बनाए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, अविजित रहेका मलानले ३६ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन बनाए। कप्तान मोर्गन र मलानले उत्कृष्ट प्रदर्शन गर्दै ११२ रनको साँझेदारी गरे।
बलिङतर्फ पाकिस्तानका सादब खानले ३ र हरिस राउफले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएपछि इंग्ल्यान्डले विशाल लक्ष्य पाएको थियो। पाकिस्तानका लागि अग्रपंक्तिका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। मोहम्मद हफिजले ६९ रन बनाए। उनले मात्र ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, कप्तान बाबर अजामले ५६ र फखर जमानले ३६ रनको योगदान दिएका थिए। बलिङतर्फ आदिल रशिदले २ विकेट लिए।
यो जितसँगै इंग्ल्यान्डले ३ खेलको टि–२० क्रिकेट सिरिज १–० ले अग्रता बनाएको छ। पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो। पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो खेल सेप्टेम्बर १ तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।