सुदूरपश्चिम–सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार संक्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन्। यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको ५ हजार ७ सय ५४ पुगेको छ। जसमा एक हजार ५०५ महिला र चार हजार २४९ पुरुष छन्। आइतबारसम्म प्रदेशमा कोभिड–१९का सबैभन्दा बढी संक्रमित कैलालीमा एक हजार ६९९ जना पुगेका छन्।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार डोटीमा ९२२, अछाममा ८९९ ,कञ्चनपुरमा ६७९, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३६९, बझाङमा ३७० र दार्चुलामा ४८ जना संक्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई÷दुई र अछामका एक जना गरी ११ कोरोना संक्रमितको मृत्यु भएको छ।
आइतबार अछाम र कञ्चनपुर जिल्लाबाट समेत गरी ८९ जना उपचारपछि डिस्चार्ज भएसँगै प्रदेशमा कूल डिस्चार्ज हुनेको संख्या चार हजार ९२२ पुगेको छ । संक्रमितमध्ये प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा १०१, नौ वटै जिल्लाका आइसोलेसन केन्द्रमा ६५० र होम आइसोलेसनमा १२० जना रहेका छन् ।
केही हप्तायता पिसीआर पद्धतिबाट शंकास्पद व्यक्तिको स्वाबको नमूना संकलन र परीक्षणको दायरा वृद्धि भएको छ । हाल दैनिक बढीमा एक हजार ७३० वटासम्म नमूना जाँच भइरहेको छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश राजधानी धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम सुरु गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।