फाइल तस्बिर काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना महामारीको अवस्था सामान्य आएपछि मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिने बताएका छन्।
आइतबार मन्त्रालयको वार्षिक प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गर्दै मन्त्री यादवले सामान्य अवस्था आएपछि नयाँ श्रम स्वीकृति दिन सुरु गरिने बताएका हुन्।
‘हामीले श्रम स्वीकृति प्रदान गरेर मात्रै पनि अर्थ छैन। कोरोनाका कारण हामीमात्र समस्यामा छैनौं। गन्तव्य मुलुकहरु पनि श्रमिक लिन तयारी अवस्थामा हुनुपर्यो। जहाज पनि चल्नुपर्यो’ मन्त्री यादवले भने।
हाल स्वास्थ्यमापदण्ड पुरा गरेर पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानमात्र सरकारले खुल्ला गरेको छ। सामान्य अवस्था आएर अन्तर्राष्ट्रिय उडानहरु सुरु भएपछि मात्रै नयाँ श्रम स्वीकृति दिन सुरु गरिने मन्त्रालयको भनाइ छ।
त्यस्तै विदेशमा अलपत्र श्रमिकहरुको तत्काल उद्धार तथा राहतका लागि विदेशस्थित (साउदी, कतार, कुवेत, युएई, ओमान, मलेसिया र बहराइन) गरी ७ वटा मुलुकस्थित कुटनीतिक नियोगमा सेल्टर हाउस सञ्चालनमा ल्याइने मन्त्री यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।