काठमाडौं- इन्डियन प्रिमियर लिग क्रिकेटका लागि दुबईमा रहेका चेन्नई सुपर किंग्सका खेलाडी र कर्मचारी गरेर १२ जनामा कोरोना संक्रमण देखिएको छ। नाम उल्लेख नगरिए पनि संक्रमण भएका एक खेलाडी फास्ट बलर रहेको बताइएको छ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई टिम अगस्ट २१ मा दुबई गएको थियो। ६ दिनको क्वारेन्टाइन समय सकाएर अभ्यास सुरु गरेका खेलाडीमा कोरोना देखिएको हो। टिम ब्यवस्थापनका एक सदस्य र उनको श्रीमतीमा पनि संक्रमण देखिएको बताइएको छ।
कोरोना देखिएका अरु कर्मचारी सोसियल मिडिया टिमका सदस्य रहेको बताइएको छ। यसबारे चेन्नई टिम र बिसिसिआईले केही बताएको छैन। तर चेन्नई टिमकै एक सदस्यका अनुसार संक्रमण भएको पक्का गरिएका खबरहरु आइरहेका छन्।
अहिले संक्रमण भएकाहरु टिम रहेको होटलभन्दा भिन्नै होटलमा सरेका छन्। क्वारेन्टाइनमा रहेर उनीहरुको नियमित स्वास्थ्य अवस्था परीक्षण हुने बताइएको छ।
यसले आइपिएल सार्ने विषयमा भने कुनै छलफल भएको छैन। आइपिएल युएईमा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। भारतमा कोरोना माहामारीका कारण युएईमा आइपिएल गर्न लागेको हो।
चेन्नई टिमकै सुरेस रैना भने यो सिजन आइपिएल नखेल्ने गरी भारत फर्किसकेका छन्। उनी फर्कनुको कारण व्यक्तिगत बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।