कास्की- जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपलाई खुकुल्याउँदै जोरबिजोर प्रणालीमा ट्याक्सी तथा निजी सवारी साधन संचालन गर्न सकिने समय तोकेको छ। शुक्रबार एक आदेश जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहान ६ देखि बेलुका ८ बजेसम्म जोरबिजोर प्रणालीमा निजी सवारी तथा ट्याक्सी संचालन गर्न सकिने उल्लेख गरेका हुन्।
तर यो समयमा शैक्षिक संस्था तथा सार्वजनिक सवारीका साधन भने संचालन गर्न नपाइने भएको छ। यस्तै सामाजिक दुरी कायम गर्दै सरकारी तथा बैंक तथा वित्तीय संस्थाका कार्यलयमा भिडभाड नहुने व्यवस्था गरी संचालन गर्न सकिने भएको छ।
होटल तथा रेस्टुरेन्टमा बसेर खान नपाइने भएपनि टेक अवे सेवा साँझ ७ बजेसम्म भने प्रवाह गर्न सकिने आदेशमा उल्लेख छ। यस्तै धेरै मानिस जम्मा हुने कुनै पनि कार्यक्रम आयोजना गर्न पनि निषेध गरिएको छ।
यसअघि भदौ ५ गते प्रशासनले अत्यावश्यक काम नपरी हिँडडुल गर्नसमेत बन्देज लगाएको थियो। निषेधाज्ञा केही खुकुल्याइएको भएपनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड भने पालना गर्न भनिएको छ।
यस्तो आदेश भदौ २० गते राती १२ बजेसम्मका लागि लागू हुने समेत प्रशासनले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।