काठमाडौं- नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या थपिने क्रम बढ्दो छ। संक्रमितको संख्या थपिएसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा नेपालमा ६९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। १० दिनको यो अवधिमा नेपालभर ७ हजार २७२ संक्रमित थपिएका छन्।
यो दश दिनको अवधिमा सबैभन्दा धेरै संक्रमितको मृत्यु भदौ ५ र १० गते भएको छ। यी दुवै दिन ११/११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। यस्तै संक्रमित थपिनेको संख्या भने बिहीबार सबैभन्दा धेरै भएको छ। हिजो बिहीबार १ हजार १ सय ११ जना संक्रमित थपिएका हुन्। त्यस्तै भदौ २ गते १ हजार १६ जना थपिएका थिए।


बिहीबार साँझसम्म नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या १८३ पुगेको छ। जबकी १० दिन अघि भदौ २ गते संक्रमितको संख्या २८ हजार २५७ थियो भने मृतकको संख्या ११४ थियो।
यो दश दिनको अवधिमा २ हजार ४ सय ९३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। १० दिन अघि कुल संक्रमितमध्ये निको हुनेको संख्या १७ हजार ५८० थियो। बिहीबार साँझसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ।
भदौ २ देखि ११ गतेसम्म कहिले कति संक्रमित थपिए, कति जनाको मृत्यु भयो?
- भदौ २ गते १०१६ संक्रमित थपिए, ७ जनाको मृत्यु
- भदौ ३ गते ६८१ संक्रमित थपिए, ६ जनाको मृत्यु
- भदौ ४ गते ७०७ संक्रमित थपिए, ६ जनाको मृत्यु
- भदौ ५ गते ८३८ संक्रमित थपिए, ११ जनाको मृत्यु
- भदौ ६ गते ६३४ संक्रमित थपिए, ९ जनाको मृत्यु
- भदौ ७ गते ८१८ संक्रमित थपिए, ३ जनाको मृत्यु
- भदौ ८ गते ७४३ संक्रमित थपिए, ८ जनाको मृत्यु
- भदौ ९ गते ८५५ संक्रमित थपिए, ७ जनाको मृत्यु
- भदौ १० गते ८८५ संक्रमित थपिए, ११ जनाको मृत्यु
- भदौ ११ गते ११११ संक्रमित थपिए, ८ जनाको मृत्यु
कुन उमेरका कतिको मृत्यु?
नेपालमा बिहीबार साँझसम्म मृत्यु भएका १८३ कोरोना संक्रमितमध्ये १३७ पुरुष र ४६ महिला छन्। मृत्यु हुनेमा सबैभन्दा बढी ४१ देखि ५० वर्षका छन्। यो उमेर समूहका ३१ पुरुष र १० महिला गरी ४१ जनाको मृत्यु भएको छ। त्यसपछि ६१ देखि ७० वर्षका ३६ जनाको मृत्यु भएको छ।
५१ देखि ६० वर्षका ३२ जनाको, ७१ देखि ८० वर्षका २४ जनाको, ३१ देखि ४० वर्षका १७ जना, २१ देखि ३० वर्षका १२ जना, ८० वर्षभन्दा माथिका १० जना, ११ देखि २० वर्षका ५ र १० वर्षभन्दा मुनीका ४ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।