काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिला छन्।
खोकी, सास फेर्न र ज्वरो आउने समस्या भएका झापाका ८३ वर्षीय पुुरुष बि एन्ड सी अस्पतालबाट रेफर भई भदौ ३ गते भर्ना भएका थिए। उपचारका क्रममा शुक्रबार बिहान पौने ४ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
ती पुरुषमा मिर्गौलाको दीर्घकालीन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्प रक्तकोसिकाको समस्या रहेको थियो। उनलाई भदौ ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।
यस्तै, कोशी अस्पतालबाट रेफर गरिएका मोरङकी ५६ वर्षीया महिलाको शुक्रबार बिहान सवा तीन बजे मृत्यु भएको अस्पतालका निर्देशक डा निदेश सापकोटाले जानकारी दिएका छन्। अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी ती महिलामा ९ भदौमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।