काठमाडौं- नेपाल र चिनियाँ अधिकारीहरूले चीनको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको प्रगतिका विषयमा समीक्षा गरेका छन्। अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट कोरपरेसन एजेन्सीका अधिकारीहरूले भिडियो कन्फरेन्समार्फत् नेपालमा सञ्चालित आयोजनाको समीक्षा तथा संभाव्य सहकार्यका विषयमा छलफल भएको हो।
अर्थसचिव शिशिरकुमार ढुंगानाले चीनको अनुदान तथा सहुलियतपूर्ण ऋण सहायतामा सञ्चालित आयोजनाको काम सामान्य अवस्थामा अघि बढिरहेको बताएका छन्। उनले कतिपय आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको भन्दै त्यसमा देखिन सक्ने समस्या समाधानका लागि दुवै पक्ष मिलेर काम गर्नुपर्ने बताए।
चिनियाँ एजेन्सीका उपाध्यक्ष डेङ बोकिङले समस्या देखिएका आयोजनामा प्रतिबद्धताअनुसार नै काम अघि बढाउने गरी आफ्नो तर्फबाट पहल थालिसकिएको जानकारी गराएका छन्। उनले अरनिको राजमार्ग स्तरोन्नति तथा काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको काम तत्काल अघि बढ्ने पनि बताएका छन्।
छलफलमा नेपाली पक्षले चीनको सहयोगमा सञ्चालन भइरहेका आयोजनाको प्रगति विवरणबारे जानकारी गराएको थियो। चिनियाँ पक्षले नेपालसँग थप आयोजना कार्यान्वयनमा सहकार्य गर्ने पनि बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।