काठमाडौं- नेपालगञ्ज मेडिकल कलेजले आइसोलेसनका लागि १५० शय्या छुट्याएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोनाका शंकास्पद व्यक्तिका लागि ५० शय्याको आइसोलेसन र संक्रमितका लागि १ सय शय्याको आइसोलेसन बेड छुट्याएको जानकारी दिएको हो।
अस्पतालमा हालसम्म २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको समेत अस्पतालले जनाएको छ। यीमध्ये तीन जना डाक्टर हुन्। स्वास्थ्यकर्मी संक्रमित भएपनि थप सावधानी अपनाउँदै सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका १ सय ८९ जना बिरामीले आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरुमध्ये पिसिआर परीक्षण गर्दा ५५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। लक्षण भएका संक्रमितहरुको संख्या बढ्दै गएपछि उपचार थप जटिल बन्दै गएको अस्पतालले जनाएको छ।
अस्पतालले हालसम्म कोरोना संक्रमित दुई महिलाको शल्यक्रिया गरी प्रसूति सेवा समेत प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।