काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी-बन्दी रहेका कारागारमा कोभिड-१९ को संक्रमणप्रति संवेदनशील भई कैदीबन्दीलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराएकाे छ।
आयोगमा सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ कैदी-बन्दीको पिसिआर परीक्षण गरिएपनि पछि संक्रमण हुनसक्ने सम्भावना रहेकाले कारागारमा पठाइने नयाँ कैदीबन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी-बन्दीबाट छुट्टै राख्ने व्यवस्था गर्न आग्रह गरेको छ। साथै, कारागारभित्र रहेका कैदी-बन्दीको स्वास्थ्यसम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न सरकारलाई आग्रह गरिएको छ।
काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारमा रहेका कैदीबन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीमा समेत कोभिड-१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ।
कारागारमा भएका कैदीबन्दीका विषयमा आयोगले कारागार व्यवस्थापन विभागसँग जानकारी लिएको थियाे। देशका ७१ कारागारमा हाल २१ हजारभन्दा बढी कैदी-बन्दी रहेका छन्।
देशका अधिकांश कारागारमा क्षमताभन्दा अधिक सङ्ख्यामा विगत लामो समयदेखि कैदी-बन्दी रहेको आयोगको यसअघिको अनुगमनबाट पाइएको थियाे। कोभिड-१९ को संक्रमण बढेसँगै कारागारमा अत्यधिक संख्यामा रहेका कैदीबन्दीले असुरक्षित महशुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि आयोगसमक्ष अनुरोध गरेको आयोगले जनाएको छ।
कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीमा समेत त्रास सिर्जना भएको पाइएको आयोगले जनाएकाे छ। बिरामी भएका कैदी-बन्दीलाई उपचार गर्न लैजाँदा तथा कारागारभित्र नयाँ कैदी-बन्दी भित्रिँदासमेत कोरोनाको जोखिम उच्च रहने देखिएकाे आयाेगले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।