यतिन्जेल लमजुङ जिल्लाभर धेरै सङ्क्रमित देखिएको थिएन। बुधबार मध्यमर्स्याङ्दी जलविद्युत परियोजनामा बस्ने नेपाली सेनाका २० जना जवानलाई एकैपटक सङ्क्रमण पुष्टि भयो।
बेसींसहर नगरपालिकाको ७ नम्बर वडामा ग्लोबल आइएमई बैंकमा कार्यरत दुई जना कर्मचारी र सोही वडामा बस्ने घरमै बस्ने एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो। कन्ट्याक्ट ट्रेसिङकै दायरा बढाएकाले सङ्क्रमित थपिएका हुन्।
हाम्रो नगरपालिकाले कोरोना नियन्त्रण रोकथाम तथा न्यूनीकरणको लागि १ करोड २० लाख छुट्याएको थियो। अहिलेसम्म परीक्षण, राहत वितरण स्वस्थ्यकर्मी व्यवस्थापन र एम्बुलेन्स फ्री गराउँदा ७० लाख खर्च भइसकेको छ।
प्रदेश र संघीय सरकारको समन्वय हाम्रो प्रदेश र पालिकामा राम्रो भएको छ। संघीय सरकारले बुधबार मात्रै जिल्ला अस्पताललाई ४ वटा भेन्टिलेटर र थप आइसियूका लागि २ करोड रुपैँया पठाएको छ।
गण्डकी प्रदेशले त संघीय सरकारले भन्दा राम्रो काम गरिरहेको छ। सुरुमा नै ११ आइसोलेसन बनाएको थियो। अहिलेसम्म हाम्रो पालिकाले २० लाख सहयोग गण्डकी प्रदेशबाट पाएको छ। हाम्रो समन्वय राम्रो छ।
क्वारेन्टाइन र आइसोलेसन बनाउन रकम खर्च भएको छ। खास लमजुङमा बैंकमा कार्यरतहरूमा बढी संक्रमण देखिएकाले कसरी जोगाउने भन्ने चिन्ता छ। बैंकहरुमा कार्यरत कर्मचारीलाई भोलिदेखि नै कन्ट्याक्ट ट्रेसिङ गर्ने भएका छौँ।
अब हामी आफैं किट किन्ने तयारी गरेका छौँ। पिसिआर परीक्षण दायरा फराकिलो नै छ। आवश्यक परेको स्थानमा हामी चुक्दैनौँ। एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ। आत्तिहाल्न पर्ने अवस्था त छैन तर सचेत चाहिं रहनुपर्छ।
(लमजुङ बेँसीसहर नगरपालिकाका मेयर अर्यालसँग नेपाल लाइभले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।