शंखरापुरमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अहिलेसम्म १८ जना सङ्क्रमित पुष्टि भइसकेका छन्। ९ वटा वडामध्ये ६ वटा वडामा संक्रमित भेटिएका छन्।
सुरुसुरुमा प्रभावित जिल्लाबाट आएका व्यक्तिहरूमा मात्र संक्रमण देखिएको थियो। अहिले समुदायस्तरमा नै फैलिएको छ। अहिलेसम्म ६ जनालाई निको भइसकेको छ। ४ जना होम आइसोलेसनमा हुनुहुन्छ। सात जना अस्पतालमा हुनुहुन्छ।
हामीले कन्ट्याक्ट ट्रेसिङबाटै सङ्क्रमित पत्ता लगाइएको हौँ। मालपोत कार्यालय, नापी कार्यालय, नेपाल विद्युत प्राधिकरण तथा बैंकहरूको परीक्षण गरेका छ। हालसम्म नगरमा ५ सय ३५ जनाको पिसिआर परीक्षण गरिएछ। कहिले बाहिर नगएकाहरुमा पनि कोरोना सङ्क्रमण देखिएको छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि हामीले डेढ करोड जति विनियोजन गरेका छौं। हामीले पनि पिसिआर परीक्षण मेसिन किनेका छौँ। कोरोना संक्रमण नियन्त्रणमा खट्ने हाम्रो मातहतका कर्मचारीलाई बस्नेखाने व्यवस्था गरेका छाैं। बाहिरबाट आएकालाई क्वारेन्टाइनमा हामीले राखेका थियाैं। अहिले पनि केही हुनुहुन्छ। नगरापालिकाले आफै आइसोलेसन पनि बनाएको छ। हाल ४३ बेडको आइसोलेसन भएपनि थप गर्न सकिने अवस्था छ। निजी अस्पताल र सुषमा मेमोरियल अस्पतालमा सङ्क्रमित राख्ने व्यवस्था गरिएको छ।
कोरोना नियन्त्रणको लागि हामीले प्रदेशबाट २० लाख रुपैँया राहत वितरण गर्नका लागि पाएका थियौँ। आइसोलेसन बनाउन पनि सहयोग आउने कुरा भएको छ। संघीय सरकारले विशेष कोरोना नियन्त्रणका लागि रकम उपलब्ध गराएको छैन।
हामीले विपद् जोखिम न्यूनीकरण समिति पनि बनाएका छौँ। सहरमा हिँडडुल गर्दा मास्कको अनिवार्य प्रयोग, साबुनपानीले हात धुनेदेखि स्वस्थ रहन सचेत गराउँदै पनि हिडेका छौँ।
स्वास्थ्यकर्मीको मनोबल बढाउन जोखिम भत्ता खाना खर्चको व्यवस्था गरेका छौँ। बस्न चाहनेहरुलाई बस्ने व्यवस्था पनि गरेका छौँ। अब पालिकाभर बिमाको कार्यक्रम लैजाने सोचाइमा छाैं।
कोरोन सङ्क्रमित र निको भइसकेकालाई पनि हेर्ने दृष्टिकोण सामजमा राम्रो छैन। त्यस्तो देखिने गरी घटना त घटेको छैन तर हेयको भावले हेर्ने क्रम बढ्यो। तिनै तहको सरकार मिलेर नागरिकलाई सचेत गराउनुपर्ने आवश्यकता देखेको छु।
योभन्दा स्थिति भयावह भयो भने, स्थानीय सरकार एक्लैले मात्र काम गर्न सक्दैन। मैदानमा संघीय र प्रदेश सरकार पनि आउनुपर्छ। अहिलेसम्म त स्थिति ठिकै छ। तर सङ्क्रमित बढ्ने क्रम देखिएकाले तीनै तहको सरकार मिलेर अघि बढ्नुको विकल्प छैन।
(काठमाडौंस्थित शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।