काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति ९:३० बजे मृत्यु भएको हो।
यसअघि मंगलबार राति बाँकेमा पनि एक ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मंगलबार साँझसम्म ३ हजार ७१८ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा १६३ संक्रमितको मृत्यु भएको छ। देशभरमा मंगलबार साँझसम्म ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १९ हजार ११९ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।