काठमाडौं-क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले दोस्रो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा जमैका तलावाजले गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको हो।
१०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको तलावाजले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। उसका लागि नक्रुमाह बोनरले अविजित ३० रन बनाउँदा ग्लेन फिलिप्सले २६ र आन्द्रे रसेलले अविजित २३ रनको योगदान दिए। जर्मिन ब्लाकवोडले पनि २३ रन बनाए। बलिङतर्फ वारियर्सका नभिन उल हकले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेजन वारियर्सले खराब सुरुवात गर्दै २० ओभरमा सबै विकेटको क्षतिमा १०८ रन बनाएको थियो। उसका लागि तीन खेलाडीले मात्रै दोहोरो अंक छुन सके। रोस टायलरले सर्वाधिक २३ रन बनाउँदा नभिन उल हकले अविजित २० र निकोलस पुरनले १५ रन बनाए।
अमेजन वारियर्सको ब्याटिङ ध्वस्त पार्न अफगानिस्तानका मुजिब उर रहमान र फिडेल इडवार्डसको मुख्य भूमिका रह्यो। नेपालका सन्दीप लामिछानेले पनि विशेष योगदान दिए।
प्लेयर अफ द म्याच घोषित भएका मुजिबले ४ ओभरमा एक मेडन ओभरसहित ११ रन खर्चिएर ३ विकेट लिए। यसअघि यही क्लबविरुद्ध पनि मुजिबले ३ विकेट नै लिएका थिए। इडवार्डसले ४ ओभरमा ३० रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, सन्दीप र रसेलको नाममा समान १–१ विकेट रह्यो।
सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर १ विकेट लिए। यो पटक भने उनको इकोनोमी रेट ३ रह्यो। यसअघि सन्दीपले यही क्लबसँग ४ ओभरमा मात्र ८ रन खर्चिएर २ विकेट लिएका थिए।
त्यस्तै, आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र तेस्रो खेलमा गुयाना अमेजन वारियर्ससँग जमैका तलावाज १४ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।