मनाङ-मनाङ स्वास्थ्य कार्यालयका प्रमुखलाई नै काेराेना संक्रमण पुष्टि भएकाे छ। स्याङजा चापाकोट घर भएका स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए। स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए।
यस्तै भरतपुर-१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको गिरीले बताए। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ। सङ्क्रमितकाे सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनकाे कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए।
त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।