नेपालगन्ज–बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलाई भदौ ८ गते बिहान १० बजे नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको थियो।
उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै मंगलबार राति साढे १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।